रुसमा विमानमा आगलागी

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ । एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको उक्त विमानमा आगलागी भएको हो ।

विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य रहेको प्रहरीले जानकारी दिएको छ । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मस्कोको शेरेमेत्यवोबाट उडेको केहीबेरमा नै विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराउन लाग्दा विमानको इन्जिनमा आगो लागेको थियो ।

जहाज अवतरण गरिरहेको बेला पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको भिडियो सार्वजनिक भएको छ । अवतरण भइसकेपछि आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको उल्लेख गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

एजेन्सी

Facebook Comments