अस्पतालमा होहल्ला गरेको आरोपमा पूर्वसभासद साह पक्राउ

बच्चा अस्पतालमा छाडेर अस्पतालमा होहल्ला गरेको आरोपमा पूर्वसभासद् गायत्री साहलाई प्रहरीले प्रक्राउ गरेको छ । मेडिसिटी अस्पताल परिसरबाट प्रहरीले पूर्व सभासद् साह र श्रीमान राजेश महतोलाई समेत पक्राउ गरेको हो । अस्पतालमा होहल्ला गरेको र बच्चा बुझ्न नमानेको भन्दै मेडिसिटी अस्पतालले प्रहरीमा उजुरी दिएको थियो ।

गायत्री साह र साहका श्रीमानले मेडिसिटी अस्पतालको लापराबाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको आरोप लगाउँदै बच्चा बुझ्न अस्वीकार गरेका छन् भने सहयोगीको साथमा केही दिनदेखि मेडिसीटी अस्पतालमा आन्दोलन समेत गरिरहेका थिए ।

अस्पतालको लापरवाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको दावी गर्दै पूर्वसभासद् साहले अस्पतालले नै बच्चाको स्वास्थ्यको जिम्मा लिनुपर्ने दावी गर्दै आउनुभएको छ । तर अस्पतालले उपचारमा कुनै लापरवाही नभएको बताउँदै आएको छ ।

उपचारमा संलग्न वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठ र अस्पताल समेतको लापरवाहीले डाउन सिन्ड्रम भएको बच्चा जन्मिएको पूर्वसभासद साहको जिकीर रहेको छ ।

गर्भमा रहँदा डाउन सिन्ड्रम भएको थाहा भएमा गर्भपतन गराउन मिल्ने कानुनी व्यवस्था रहेको छ । सोबारे चिकित्सकले जानकारी नगराएको साहको जिकीर रहेको छ । तर उपचारमा संलग्न चिकित्सकहरुले भने नेपालमा डाउन सिन्ड्रम परिक्षण गर्ने प्रविधि नरहेको बताउँदै आएका छन् ।

Facebook Comments