पुनःनिर्माणका लागि १ खर्ब ५६ अर्ब बजेट

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्षका लागि रु १ खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले प्राधिकरणको समग्र पुनःनिर्माणको कार्यक्रमका निम्ति करीब रु छ खर्ब ३० अर्ब रकम सरकारको बजेटरी कार्यक्रम र दातृ निकायको समेत सहयोगमार्फत परिचालित हुने रकमको वित्तीय आँकलन गरेको छ । सोहीअनुसारको वित्तीय खाका बैठकमा प्रस्तुत गरिएको थियो ।

उल्लेखित वित्तीय आँकलन तथा खाकाका आधारमा प्राधिकरणको पुनःनिर्माणसम्बन्धी समग्र कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाइने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई प्रभावकारीरुपमा अघि बढाई पीडितलाई चाँडोभन्दा चाँडो छानामुनि ल्याउन निर्देशन दिनुभएकाे थियाे । बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडासहित विपक्षी दलका प्रतिनिधिलगायत प्राधिरणसँग सम्बन्धित पदाधिकारीको सहभागिता थियो ।

Facebook Comments