प्रदेश सरकारले फेवाताल संरक्षण गर्छः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय व्यवस्था अन्तर्गत प्रदेश सरकार गठन भएपछि मात्र विकास जनता माझ विकेन्द्रित भएको बताउनुभएको छ । केन्द्रमा २ सय ५० वर्षअघि निर्माण भएको सरकारलाई आफ्नो सरकारको रुपमा जनताले अनुभूत गर्न नपाएको उहाँको भनाई छ ।

प्रदेश सरकारको लगानीमा पोखरा २३ ठूलाखेतमा बन्न लागेको पुलको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले संघीयतापछि अहिले प्रदेश र स्थानीय सरकार जनताको घर घरमा विकास र विभिन्न योजनाका साथ पुगेको जिकीर गर्नुभयो ।

पोखरामा पर्यटन प्रवद्र्धनका लागि फेवातालको महत्वपूर्ण भूमिका छ, उहाँले भन्नुभयो ‘फेवातालको नाम बेचेर पोखरा बाँचिरहेको छ, अतिक्रमण गरेर फेवातालको अस्तित्व सकिएपछि के हुन्छ ?
फेवाताल संरक्षणमा आजसम्म कतैबाट पहल नभएको भन्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले फेवातालको मापदण्ड कायम गरेर संरक्षणमा लागेको बताउनुभयो ।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गाउँको विकास गर्नका लागि नै संघीयता ल्याएको उल्लेख गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने अठोटका साथ काम गरिरहेको बताउनुभयो ।

कार्यक्रमा प्रदेश सांसदद्वय राजीव पहारी, रामजी बराल, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री, पोखरा महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष विष्णु पराजुली, पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदी लगायतले पुल निर्माणपछि स्थानीय र विदेशी पर्यटकलाई समेत टेवा पुग्ने धारणा व्यक्त गरेका थिए । प्रदेश सरकारको ६ करोड ७५ लाख लगानीमा पुल निर्माणको जिम्मा निलगिरी कन्स्ट्रक्सनले पाएको छ ।

९० दशमलब ७५ मिटर लामो पुलको निर्माण १५ महिनामा सक्ने लक्ष्य लिइएको छ । पुल ९ मिटर फराकिलो हुने छ । कास्की, पर्वत र स्याङ्जाको संगमस्थलमा अवस्थित धार्मिक पर्यटनको क्षेत्र पञ्चासे पुग्ने सडकमा पक्की पुल बन्ने लागेको हो । पुल निर्माण पछि पर्यटकी क्षेत्र पञ्चासे, पोखरा वडा नम्बर २३ को ठूलाखेत, चैनपुर, हपर्न, भदौरे तामाङ्गी र घाँटीछिनाका करीब १५ हजार नागरिक वर्षायाममा पनि यातायात सुविधा पाउने छन् ।

हल्लनचोक, पामे, ठुलाखेत, घाँटीछिना सडक खण्ड अन्तर्गत पोखरा–२३ र २४ जोड्ने गरी खहरेखोलामा पुल बन्ने छ । भौगोलिक अवस्थाको कारण बक्सब्रीज आकारमा मल्टीसेल बक्सको डिजाईनमा पुल निर्माण गरिने प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्की प्रमुख इन्जिनियर नारायण बरालले जानकारी दिनुभयो ।

Facebook Comments