फेवातालको सिमसार पुर्ने काम रोक्न पोखरा महानगरलाई मुख्यमन्त्री गुरुङको आग्रह

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोकिनुपर्ने बताएका छन् । ‘सोमबार वडा नं २३ र २४ जोडने पुल निर्माणको लागि शिलान्यास गर्न पुग्नुभएका मन्त्री गुरुङले फर्कदा सिमसार क्षेत्र पुरिएको स्थानको अवलोकन गर्दै यस्तो बताउनुभएको हो ।

सिमसार क्षेत्र बचाउनुको सट्टा पुर्न थालेकोप्रति दुःख व्यक्त गर्दै यो तत्काल रोकिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले महानगरपालिकाले फेवातालको माटो उत्खनन् र सिमसार पुर्ने काम हतारमा गरेको टिप्पणी गर्नुभयो । सर्बोच्चको फैसला अनुसार फेवातालको सिमाङ्कन गरेर पिलर गाडेपछि मात्रै गर्नुपर्ने काम अहिले नै महानगरले हतार गरेर फेवातालको माटो उत्खनन् र सिमसार पुरिरहेको मुख्यमन्त्री गुरुङको भनाई थियो ।

उहाँले फेवातालको सिमाङ्कन भइसकेपछि त्यस सिमा भित्रको माटो निकाल्ने काम सम्बन्धित निकायले गर्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले पछि गर्नुपर्ने काम महानगरले फेवातालको माटो हतारमा निकालेर राम्रो गरेपनि सिमसार पुरेर उल्टो काम गरेको टिप्पणी गर्नुभयो ।

हामीले फेवातालको सिरान क्षेत्रमा सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने योजनामा रहेका बेला वीचमा नै सिमसार क्षेत्र महानगरले नै पुर्न लाग्नु दुःखद रहेको बताउँदै उहाँले तालमा थुप्रिरहेका चिज त अन्त लगेर फाल्नुपर्ने बताउनुभाये ।

फेवाताल संरक्षणका लागि प्रदेश सरकार र महानगरपालिकाले सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने निर्णय भइसकेको छ । फेवातालको मुख्य श्रोतको रुपमा रहेको हर्पनखोला, खहरेखोला र अँधेरीखोलामा चेकड्याम निर्माण गर्न जसका लागि ३३ करोड ९० लाख रुपैयाँको बजेट छुट्याइएको छ । जसमा प्रदेश र महानगरले पचास÷पचास प्रतिशत बजेट हाल्नेछन् ।

मुख्यमन्त्री गुरुङले सिमसार क्षेत्रको संरक्षणको जिम्मा महानगरको भएपनि त्यसलाई सघाउन प्रदेश सरकारले सहकार्य गरिरहेको बताउनुभयो । घडेरी बनाउनका लागि सबैतिर सिमसार भएको ठाउँको बिचमा लगेर पुर्ने काम धमाधम भइरहेको हो ।

तालको जलाधार क्षेत्रको सिरान खपौंदी क्षेत्रमा पोखरा महानगरपालिकाले जेसिभीको प्रयोग गरेर ताल गहिराउने काम गरिरहेको छ । सोहि माटो खपौंदी भन्दा केहि माथि पामे बजार नजिकको पहिलेको डुंगाघाट अर्थात समर्खु भन्ने ठाउँको सिमसार क्षेत्र पुर्ने काम भइरहेको छ । हालसम्म झण्डै ४ सय ट्रक माटो त्यस क्षेत्रमा हालिसकेको छ । सिमसार पुर्ने काम अरु कसैले नभई पोखरा महानगरपालिका आफैले गरिरहेको हो ।

Facebook Comments