कांग्रेसको जागरण अभियान शुरु

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान सुरु भएको छ । सरकार विरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान गर्न लागेको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारले गरेका गलत काम–कारवाहीलाई नागरिक सामु लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न जागरण अभियान सुरु गरिएको हो । अभियानकै क्रममा पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने कांग्रेसले जनाएको छ ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ । बुधबारबाट सुरु भएको अभियानको पहिलो चरण एक महिना चल्नेछ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ ।

काठमाण्डौंको राष्टियसभागृहबाट अभियानको शुरु गरिएको हो । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक बालकृष्ण खाँड लगायतका नेताहरुले सम्बोधन गरेका थिए । बुधबार नै ७ वटै प्रदेशमा भएका कार्यक्रममा नेताहरूले सम्बाेधन गरेका छन् ।

सभापति देउवा काठमाडौंको कार्यक्रममा, वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर २ को धनुषामा, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १ सुनसरीमा, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेशको पोखरामा, अर्का महामन्त्री शशांक कोइराला प्रदेश नम्बर ५ को रुपन्देहीमा, कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशको सुर्खेतमा र उपसभापति विमलेन्द्र निधि सुदुरपश्चिम प्रदेशको धनगढीमा हुने कार्यक्रममा सहभागी भइ सम्बाेधन गरेका छन् ।

Facebook Comments