अस्थायी शिक्षकहरुलाई आर्थिक सहायता दिएर विदाई गर्ने सरकारको तयारी

सरकारले अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने बताउनुभएको हो ।

उहाँले एकपटक लिइएको परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिक सत्रभित्रै सम्मानका साथ बिदाइ गर्ने बताउनुभयो । उहाँका अनुसार त्यस्ता अस्थायी शिक्षकहरुलाई सरकारले आर्थिक सहायता सहित विदाई गर्नेछ ।

लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एकपटक परीक्षा लिएको भन्दै अब पुनः परीक्षा लिएर स्थायी गराउन कानुन अनुसार नमिल्ने मन्त्री पोखरेलको भनाई रहेको छ । उहाँले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न व्यावहारिक समेत नहुने बताउनुभयो ।

Facebook Comments