प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा यही बैशाख २६ देखि ३० गतेसम्म र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा बैशाख ३० देखि जेड १ गतेसम्म प्रधानमन्त्रीले भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमन्डलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, संघीय संसदका सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वा्चित पदाधिकारी, नेपाली राजदूतावास बैंककका पदाधिकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधि एवं सन्चारकर्मी रहने बताइएको छ ।

भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमन्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भियतनाम भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।कम्बोडियाको भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमन्डलस्तरीय वार्ता गर्ने, त्यहाँको नेसनल एसेम्बेली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री र उनको प्रतिनिधिमन्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमण मूलतः पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदान–प्रदानमा केन्द्रित हुने जानकारी दिनुभयो ।

Facebook Comments