‘मिस नेपाल वर्ल्ड–२०१९’को उपाधि अनुष्कालाई

अनुष्का श्रेष्ठ यो बर्षको मिस नेपाल वर्ल्ड बन्नुभएको छ । २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै श्रेष्ठले मिस नेपाल वर्ल्डको उपाधि हात पार्नुभएको हो ।

कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जित्नुभएको हो ।

यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । त्यसैगरी ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत, मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामा र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले हात पार्नुभएको छ ।
यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।

यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो । यसपटक दर्शकलाई समेत टिकट किनेर कार्यक्रम हेर्ने मौका आयोजकले दिएको थियो ।

‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुको समेत सहभागिता रहेको थियो ।

Facebook Comments