समाजवादी पार्टीले एकता सन्देश दिन ८ सहरमा कार्यक्रम गर्ने

समाजवादी पार्टी, नेपालले एकताबारे सन्देश सम्प्रेषण गर्नका लागि मुलुकका विभिन्न ८ वटा सहरमा कार्यक्रम गर्ने भएको छ । अभिमुखीकरण नाम दिइएको ती कार्यक्रमलाई अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ ।

नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपाल पार्टीवीचको एकता भई बनेको समाजवादी पार्टी, नेपालले पार्टी एकताको सन्देश दिन ८ वटा सहरमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको हो । आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगंज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा कार्यक्रम गर्ने तय भएको छ ।

केन्द्रीय सचिव प्रकाश अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहिबार बसेको पदाधिकारी बैठकले अध्यक्षद्वय भट्टराई र उेन्द्र यादवले आठ वटै सहरमा संयुक्त रूपमा सम्बोधन गर्ने गरी कार्यक्रम तय गरेको हो ।

यही वैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नवगठित समाजवादी पार्टी नेपाल गठन भएको थियो । पार्टीको बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनहरूसँग एकताका लागि पहल समेत गर्ने भएको छ ।

पदाधिकारी बैठकले गरेका हेमराज राई, रेणु यादव, गंगा श्रेष्ठ, रामसहाय यादब र डम्बर खतिवडा रहने गरी समायोजन कार्यदल, अन्य दलसँग वार्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, पर्शुराम खापुङ्ग, नवराज सुवेदी र रामसहाय यादव सदस्य रहने गरी वार्ता समिति, कार्यालय ब्यबस्थापनका लागि हिसिला यमी र प्रकाश अधिकारीलाई जिम्मा दिएको छ भने सञ्चार सम्पर्कको लागि प्रशान्तसिंहको नेतृत्वमा विश्वदीप पाण्डे, महेश चौरासिया र पूर्णबहादुर बस्नेतलाई जिम्मा दिएको छ ।

Facebook Comments