चितवनमा एक युवाद्वारा प्रहरी हिरासतमै आत्महत्या प्रयास

चितवन जिल्लाको रत्ननगर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक व्यक्तिले आत्महत्याको प्रयास गरेको बताइएको छ । प्रहरी कार्यालयको हिरासत कक्षको शौचालयभित्र आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका समिर घिसिङले बिहीबार दिउँसो तीन बजेसर्टको पासो बनाएर आत्महत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा राखिएको छ । समिरको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

कालिका नगरपालिका १ पदमपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा ल्यापटप र कम्युटर चोरी भएपछि पदमपुर प्रहरी चौकीले समिर घिसिङ र अर्का एकजनालाई पक्राउ गरेको थियो ।

घटना सार्वजनिक भएपछि विहीबार साँझपख आक्रोशित स्थानीयले टाँडी र पदमपुरको प्रहरी कार्यालयमा प्रदर्शन र ढुंगामुडा गरेका थिए । हिरासतमा रहेका व्यक्तिको मृत्यु भएको भन्दै हल्ला फैलिएको थियो । उग्र प्रदर्शन भएपछि प्रहरीले २९ वटा मोटरसाइकल र ३९ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Facebook Comments