मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकार महासंघले आन्दोलन गर्ने

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त विधेयकको विरोधमा आन्दोलन गर्ने भएको छ ।

विधेयक नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको थियो । उक्त विधेयक नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको, उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्ने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ ।

महासंघले विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्र्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गरेको छ ।

यसका साथै महासंघले संसदमा विचाराधिन अवस्थामा रहेका विज्ञापन सम्वन्धी ऐन र सूचना प्रविधि सम्वन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा समेत सच्चाउन माग गरेको छ भने मस्यौदा हुँदै गरेका आम संचार ऐन र सार्वजनिक सेवा प्रसारण ऐनका सम्वन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न आग्रह गरेको छ ।

महासंघले संघर्षका कार्यक्रम अन्तर्गत बैशाख २९ गते महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल गर्ने भएको छ । बैशाख ३० गतेः संसदका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

त्यस्तै बैशाख ३१ गते संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल गर्ने, जेठ १ गते सञ्चारकर्मीहरुले कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने र महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको महासंघका सचिव रमेश विष्टले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । जेठ २ गते काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहद प्रदर्शन गर्ने महासंघको निर्णय छ ।

Facebook Comments