संसदमा भएको विवादमा सभामुख दोषीः काँग्रेस सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच भएको विवादमा सभामुख मुख्य दोषी रहेको बताउनुभएको छ । आज नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले सभामुख कृष्णबहादुर महराले संसदमा बोलिएका संसदीय मर्यादा विपरितका शब्दहरुलाई सोही दिन हटाउनुपर्नेमा ढिलाई गरेको आरोप लगाउनुभयो ।

पछिल्लो संसद बैठकमा भएपनि अभिलेखबाट हटाइएकोले राम्रै भएको देउवाको भनाई थियो । संसदमा प्रधानमन्त्री ओलीले संसदीय परम्परा भन्दा बाहिर गएर बोलेको सभापति देउवाको दाबी थियो । सभापति देउवाले वर्तमान सरकार सबै ठाउँमा हष्तक्षेप र नियन्त्रण गर्ने हिसाबले अघि बढिरहेको आरोप लगाउनुभयो ।

सरकार अधिनायकवादी र सकभर सबै नियन्त्रण गर्ने प्रयासले अघि बढेको सभापति देउवाले आरोप लगाउनुभयो । सरकारलाई नीति, नियम, कानुनमा रहेर काम गर्न सुझाव दिंदै सरकार नसच्चिएमा काँग्रेस कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिनुभयो ।

Facebook Comments