पाकिस्तानमा बन्धुकधारीको आक्रमण

पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरस्थित एक पाँच तारे होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । बलुचिस्तान प्रान्तमा पर्ने ग्वादरस्थित पर्ल कन्टिनेन्टल होटलमा ३ जना बन्दुकधारी मिलेर आक्रमण गरेका हुन् । उक्त आक्रमणबाट एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

होटलका प्रवक्ताका अनुसार रमजान र विदाको कारण होटलमा पाहुनाहरु थिएनन् । कर्मचारीहरु पनि कम थिए । यद्यपि होटलभित्र अझै पनि केही कर्मचारी रहेको अनुमान छ । अलगावादी संगठन बलोचिस्तान लिब्रेसन आर्मी (बीएलए)को माजिद ब्रिगेडले आक्रमणको जिम्मेवारी लिएको छ ।

बीएलएले चीन र विदेशी सहयोगलाई निशाना बनाउँदै आक्रमण गरेको जनाएको छ । बीएलए समूहसँग आबद्ध रहेको बताइने एक ट्वीटर अकाउन्टमा चीन र पाकिस्तानमा अझै हमला गर्ने चेतावनी दिइएको छ । ग्वादर चीन र पाकिस्तानको बीच आर्थिक करिडोरको मुख्य केन्द्र हो जहाँ चीनका धेरै इन्जिनियर र कर्मचारी छन् ।
बलुचिस्तानमा स्थानीय अलगाववादी संगठन (बीएलए)ले चिनियाँ सहयोगको विरोध गर्दै आएको छ । बन्दुकधारीले स्थानीय समयअनुसार साँझ ४ बजेर ५० मिनेटतिर होटलमा आक्रमण गरेका थिए । होटलका सुरक्षाकर्मीले होटलको ढोकामा बन्दुकधारीलाई रोक्न खोजेका थिए । त्यहाँ गोली चलेर उनको मृत्यु भयो ।

मिडिया रिपोर्टका अनुसार बन्दुकधारी अझै पनि होटलभित्र रहेको र सुरक्षाकर्मीहरु उनीहरुसँग लडिरहेका छन् । होटलभित्र केही कर्मचारीहरु पनि रहेको अनुमान छ । तर होटलभित्र रहेका व्यक्तिहरुको संख्या भने एकीन छैन ।

बलुचिस्तानका गृहमन्त्री मीर जियाउल्लाहले बीबीसीलाई बताएअनुसार पुलिस, फ्रन्टिएर कोर र अन्य सुरक्षा एजेन्सीहरुले होटललाई घेरा हालेका छन् । गृहमन्त्री जियाउल्लाहको दाबीअनुसार होटलमा विदेशी नागरिक कोही पनि छैनन् । ग्वादरमै गत महिना आतंकवादी आक्रमणमा ११ सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु भएको थियो ।

Facebook Comments