नेपाल भियतनामवीच द्विपक्षीय सम्झौता

नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा र्पुयाउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।

सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट त्यहाँका विदेश मामिला मन्त्रालयका प्रतिनिधि न्गुएन कोक दुङले हस्ताक्षर गरेका गर्नुभएको छ ।

त्यसैगरी व्यापार तथा लगानी ढाँचासम्बन्धी सम्झौताको आशयपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल र भियतनामबीच छिट्टै सिधा हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका छन् । प्रधानमनत्री केपी शर्मा ओलीको भियतनमको औपचारिक भ्रमणका क्रममा शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

विज्ञप्तिमा दुई देशबीच व्यापार तथा लगानी प्रवद्धन, पर्यटन विकास र जनता जनताबीचसम्पर्क स्थापित गर्न छिट्टै नै सिधा हवाइ सेवा सुरु गर्नुपर्ने अवश्यकतालाई विचार गरी सोको तयारीका लागि दुवै देशका सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने सहमति भएको उल्लेख छ ।

साथै भियतनामले नेपालमा धेरै भन्दा धेरै भियतनामी पर्यटक पठाउने र विशेष गरी भगवान बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उदगमस्थल लुम्बिनीमा भियतनामी बौद्ध तीर्थयात्री पठाएर नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नेपाल र भियतनामा विज्ञान प्रविधि, सूचना प्रविधि, बन्दोबस्ती र प्रकोप व्यवस्थापनमा लगायतका सम्भावित क्षेत्रमा सहयोग विस्तार गर्न पनि सहमत भएको बताइएको छ ।

Facebook Comments