कर्मचारीको अभावमा बजेट खर्च न्युनः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले विकास खर्चतर्फ चैत महिनासम्म १९ प्रतिशतमात्र खर्च हुनुमा कर्मचारी अभाव भएको बताउनुभएको छ । पोखरामा आइतबार सुशासनको लागि नागरिक समाज(सुनास) कास्कीले आयोजना गरेको सुशासन प्रभावकारिता र बजेट खर्च बर्तमान अस्था एवं सुझाव तथा छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुडले सो कुरा बताउनुभएको हो ।

उहाँले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाई गर्दा कामगर्न समस्या भएको पनि बताउनुभयो । उहाँले ८० प्रतिशत रकम खर्च हुने आस गरेपनि हुन नसकेको भन्दै खर्च मात्रै नभएर प्रभावकारी कार्य हुनपर्नेमा आफ्नो सधै जोड रहने गरेको पनि बताउनुभयो ।

टान्सपरेन्सी इन्टरनेशनल नेपालका केन्द्रीय अध्यक्ष खेमराज रेग्मीले अहिले समाज नै भ्रष्टीकरण हुदै गएको भन्दै मुलुककको सुशासनको अबस्था हेर्दा सन्तोष जनक नभएको बताउनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले आर्थिक बर्ष २०७६ र ७७को लागि झण्डै ३४ अरवको बजेट प्रदेश सरकारले ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले गण्डकी प्रदेशको जनसंख्या घट्दो क्रममा रहेको बताउनुभयो । उहाँले झण्डै २५ लाख जनसंख्या रहेको भनिएपनि अहिले यस प्रदेशमा २१ लाख जनसख्या रहेको जानकारी दिनुभयो ।

उहाँले जनसख्या घटनुको मुख्यकारण बसाई सराई रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले गण्डकी प्रदेशको ५ बर्षे रणनीति पनि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्नेहरुको आउदो बजेटमा जनतामुखी बजेट ल्याउन र कार्यान्वयन गर्नको लागि सुझाव पनि दिएका थिए ।

Facebook Comments