पत्रकार महासंघद्वारा सभामुख र राष्ट्रियसभाका अध्यक्ष समक्ष ज्ञापनपत्र पेश

नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महरालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । मिडिया काउन्सिल सम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको भन्दै आन्दोलनरत महासंघले सभामुख महराको सरकारी निवास बालुवाटारमा भेटेर ज्ञापनपत्र पेश गरेको हो ।

महासंघले ज्ञापनपत्रमा सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन माग गरेको छ । ज्ञापनपत्र बुझ्दै सभामुख महराले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको र विधेयकमा कुनै कमीकमजोरी भएको भए विषयगत समितिमा छलफल गरेर समाधान निकाल्न सकिने बताउनुभएको थियो ।

विधेयक गत बिहीबार संसदमा दर्ता भएको थियो । विधेयक दर्ता भएसँगै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको हो । सरकारले प्रेस काउन्सिलको सट्टा सरकारबाट नियन्त्रित मिडिया काउन्सिल बनाउन खोजेको र विधेयकका प्रावधान प्रेस स्वतन्त्रता हनन गर्ने खालको भएपछि पत्रकार सम्बद्ध विभिन्न संस्थाको आरोप रहेको छ । महासंघले सोमबार नै महासंघले सोमबारै राष्ट्रिय सभाका अध्यक्षलाई पनि भेटेर ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार संसदका विभिन्न समिति सभापति र सदस्यसँग छलफल गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

महासंघको आह्वानमा मंगलबार संचारकर्मीले कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, देशैभर सरोकारवाला पक्षबीच छलफल गर्ने तथा जेठ ३ मा काठमाडौंमा संसदबाहिर र जिल्लामा सदरमुकामहरुमा सञ्चार सामग्रीसहित प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि आइतबार महासंघले महासंघका पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग छलफल गरेको थियो ।

विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिए पत्रकारलाई २५ हजार देखि १० लाखसम्म जरिवाना भराउन सकिने उल्लेख छ । यो प्रावधानप्रति महासंघको आपत्ति रहेको छ । सरकारले संसदबाट विधेयक फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

Facebook Comments