संघीय संसद भवन बनाउन दश अर्ब लाग्ने


सिंहदरबार परिसरभित्रै संघीय संसदको भवन बनाउने तयारी सरकारको छ । सिंहदरबारको पुतली बगैंचाभित्र ५६ रोपनी क्षेत्रफलमा बनाइने संघीय संसद भवनको डिजाइन अन्तिम चरणमा पुगेको छ । करिब दश अर्बको लगानीमा निर्माण गरिने भवनको डिजाइनलाई जेठको दोस्रो हप्ता अन्तिम रूप दिएर ‘ग्लोबल टेण्डर’ प्रक्रियामा लैजाने तयारी शहरी विकास मन्त्रालयले गर्दैछ ।

हाल संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका लागि नेपाल सरकारले बानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रलाई २०६५ सालदेखि संसद बैठकका लागि भाडामा प्रयोग गर्दै आएको छ ।

अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई मासिक १५ करोड रुपियाँ भाडा तिर्दा अर्बौ रुपियाँ भाडामै खर्च भइसकेको छ । शहरी विकास मन्त्रालयका अनुसार, सिंहदरबारमा निर्माण गरिने संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको छ ।

शहरी मन्त्रालयले संसद भवन निर्माण प्रक्रियालाई मुख्य प्राथमिकतामा राखेको छ । २०७८ सालको असारसम्म संसद परिसर निर्माण गरिसक्ने लक्ष्य छ । देशको भवन निर्माणको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो आयोजनाको रुपमा संसद परिसर निर्माण गर्न लागिएको हो ।

प्रस्तावित संसद परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक दलका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र तिनका हल, करिब तीन सयजना क्षमताको सुरक्षाकर्मी भवन छुटाछुट्टै निर्माण गरिने छ । परिसर भवनमा तीनतले स्मार्ट पार्किङस्थल समेत निर्माण गरिने छ ।

संसद भवन परिसरमा राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाबाट हुने विशेष सम्बोधनका लागि दुइटै संसदका सदस्य र विशिष्ट पाहुनाहरु समेत गरी एक हजार जना अटाउने सभाहल निर्माण गरिने छ । सुन्दर बगैँचा सहितको परिसरमा भीभीआईपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्वार निर्माण गरिने जनाइएको छ ।

Facebook Comments