कम्युनिष्ट नेता अधिकारीको उपचारमा आर्थिक समस्या

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको संक्रमण देखिएपछि अधिकारीको गत पुसयता चितवनमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।

अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा लगिएको हो । अधिकारीको फोक्सो र मुटुको बीच भागमा सेकाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

विसं २०१२ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ । माओवादी पार्टी विभाजन आएसँगै अधिकारी मोहन वैद्य नेतृत्वको पार्टीमा लाग्नुभएको थियो ।

अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित हुनुहुन्छ । २०४८ सालमा गोरखामा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद उम्मेदवार बन्नुभएका अधिकारी लोकप्रिय मत ल्याएपनि काँग्रेस उम्मेदवारसँग पराजित हुनुभएको थियो ।

चितवनमा उपचारका क्रममा रहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतले अस्पतालमै आएर स्वास्थ्यलाभको कामनासहित उपचारमा सहयोग गर्ने बताए पनि अहिलेसम्म उपचारमा सहयोग नमिलेको पारिवारीक श्रोतले जनाएको छ ।

छोरा नारायण अधिकारीका अनुसार केमो थेरापी र अन्य खर्च गराउँदा ८ लाख रुपैयाँ खर्च भइसकेको छ । पारिवारीक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेकाे छ ।

परिवारका सबै सदस्य राजनीतिमा पूर्णकालीन रुपमा लागेकाले हाल उपचारमा समेत आर्थिक समस्या भएको बहिनी शान्ता अधिकारीले जानकारी दिनुभयो । अधिकारीका छोरा नारायण पार्टीको गोर्खा जिल्ला इन्चार्ज हुनुहुन्छ भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्यका रुमा क्रियाशील हुनुहुन्छ ।

Facebook Comments