संघीय संसदमा पुर्व बजेटमाथिको छलफल जारी

संघीय संसदका दुवै सदनमा पूर्व बजेट छलफल जारी रहेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले गएको शुक्रबार संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटको नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहेको हो ।

छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले राम्रा कार्यक्रमहरु समेटेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बनाइएको भन्दै विकासका प्रयासहरुमा जनप्रतिनिधिसँग संवाद एवं परामर्शमा जोड दिएका छन् ।

पूर्व अर्थमन्त्री एवं सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले सीमित स्रोतसाधन र असीमित जनआकांक्षा बीचको सन्तुलन मुख्य चुनौती रहेकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेता पौडेलले विकासको बाधकको रुपमा रहेको सार्वजनिक खरिद ऐनलाई समयअनुकुल संशोधन गर्ने गरी सकारात्मक ढंगले बजेटका सिद्धान्त र प्राथमिकता आएको धारणा राख्नुभयो ।

नेकपाकै सांसद घनश्याम भुसालले सीमान्तकृत वर्ग र निम्न आय भएका जनता केन्द्रीत गरेर बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आएको भन्दै सच्याउन माग गरेका छन् ।

तीव्र आर्थिक वृद्धि, खर्च गर्ने क्षमताको विकास गर्ने, स्वदेशी लगानी बढाउने र विदेशी लगानी भित्र्याउने खाका सरकारले दिन नसकेको उनीहरुको टिप्पणी छ । बजेटका नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा संसदमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिएपछि नीति तथा सिद्धान्त र प्राथमिकता संसदबाट पारित हुनेछ ।

Facebook Comments