मिडिया काउन्सिल विधेयक फिर्ता गर्न काँग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । मंगलबार संसद बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्नुभएको हो ।

उहाँले संविधानले प्रेस स्वतन्त्रता सुनिश्चित गरेको भन्दै संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता हुनुपर्ने बताउनुभयो । सरकारले विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोजेको खाँणको आरोप रहेको छ । सरोकारवाला पक्षसँग छलफल र सहमति गरेर विधेयक अगाडि बढाउनुपर्ने पनि उहाँको भनाई छ ।

सरकारले मन्त्रीपरिषदबाट पारित गरेर गत बिहीबार संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेको छ । मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनले आन्दोलन गर्दै आएका छन् ।

Facebook Comments