प्रेसलाई नियन्त्रण होइन, नियमन गरिन्छ: बास्कोटा

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले प्रेसका नाममा छाडातन्त्र स्वीकार नगर्ने बताउनुभएको छ । मिडिया काउन्सिल विधेयकको विरोध भइरहेका बेला सञ्चारमन्त्री बाँस्कोटाले चितवनका आयोजित एक कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले स्वतन्त्र प्रेसलाई कमजोर नबनाउने तर प्रेसका नाममा छाडातन्त्र गर्ने स्वीकार नगर्ने बताउनुभयो । उहाँले प्रेसको पनि निश्चित मुल्य, मायन्ता र मर्यादा हुनुपर्ने उल्लेख गर्नुभयो । चितवनको सौराहामा फाईबर टु दी होम (एफटिटिएच) सेवाको शुभारम्भ कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई नियन्त्रण नभई नियमन गर्ने बताउनुभयो ।

लोकतान्त्रिक मुलुकहरुमा मिडियामा नियमविपरीत कार्य गरेमा दण्ड जरिवाना, जेल र मृत्युदण्ड सम्म हुने गरेको जिकीर गर्नुभयो । समानुपातिक विज्ञापन निति र क्लिन फिड लागू गर्न खोज्दा विधेयकको विषयमा अफवाह फैलाएको जिकीर गर्नुभयो । मिडिया कानुनको विषयमा बुझ्दै नबुझी विरोध गरिएको उल्लेख गर्नुभयो । विधेयक संविधानभन्दा बाहिर नबने भन्दै पत्रकार महासंघ लगायतका संगठनको आन्दोलनलाई प्रायोजितको संज्ञा दिनुभयो ।

स्वतन्त्रता छ भन्दैमा जथाभावी लेख्न मिल्दैन, मन्त्री बाँस्कोटाले भन्नुभयो, मिडिया हाउस र पत्रकारले आफैं स्वनियमन गर्ने व्यवस्था विधेयकमा गरिएको छ । उहाँले समाचार लेखेपछि जवाफदेहिता लिन सक्नुपर्ने बताउनुभयो । मिडियामा विदेशी लगानी रोक्ने मन्त्री बाँस्कोटाको भनाई थियो । मुलुकलाई अस्थिर बनाउन केही तत्व लागेको उहाँको भनाई थियो ।

Facebook Comments