प्रधानमन्त्री ओलीद्वारा कम्बोडियामा उच्चस्तरीय भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका कार्यवाहक राष्ट्रप्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्रप्रमुख राजा नोरोदम सिंहमोनी एसियाली सभ्यता बहस सम्मेलनका लागि हाल बेइजिङमा हुनुहुन्छ ।

उहाँले सिनेट प्रिसिडेन्टलाई कार्यवाहक राष्ट्रप्रमुख तोक्नुभएको छ । थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, संसद र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो ।

भियतनामको पाँचदिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली हाल कम्बोडियामा हुनुहुन्छ । कम्बोडियाको विदेश मामिला मन्त्रालयका अधिकारीले भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदान–प्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरेका छन् ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी लगायत सहभागी थिए ।

Facebook Comments