पोखरामा भाङ्ग्रा तथा ढाका बुनाई तालिम शुरु

पोखरामा भाङ्ग्रा तथा ढाका बुन्ने तालिम शुरु भएको छ । ‘सिप सिकौं स्वरोजगार बनौं ‘ भन्ने उद्देश्यका साथ तमु भाङ्ग्रा हस्तकला उद्योग र द हाईल्यान्ड ढाका उद्योगको संयुक्त आयोजनामा भाङग्रा तथा ढाका बुनाई तालिम शुरु भएको छ । निशुल्क रुपमा २ महिनासम्म संचालन हुने तालिमका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग रहेको छ ।

तालिममा ७० जना महिला सहभागी छन् । कार्यक्रममा वोल्दै प्रमुख अतिथी सामाजिक विकास मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले तालिम लिएपछि सिकेका शिपको सदुपयोग गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । तमु भाङ्ग्रा हस्तकला उद्योगका प्रोपाईटर पवित्रा गुरुङले महिलालाई सिप सिकाएर आत्मनिर्भर बनाउन प्रयत्न गर्ने बताउनुभयो ।

तालिमले महिलालाई उद्यमी बन्नतर्फ प्रेरित गर्ने उहाँको विश्वास छ । जनसेवा श्री बाट विभुषित भएकोमा गुरुङलाई प्रमुख अतिथी दिर्घनारायण पौडेल र नोभा इन्टरनेशनल इन्ष्टिच्युटका म्यानेजिङ डाईरेक्टर सवि शेचनले सम्मान गरेका थिए। कार्यक्रममा आदिवासी महासंघ महानगर समन्वय परिषद्का अध्यक्ष जंगवहादुर गुरुङले तालिम फलदायी हुने बताउनुभयो ।

ङयोए तमुधीं कास्कीका उपाध्यक्ष बुद्धिमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन काशीमाया गुरुङले गर्नुभएको थियो । तालिममा सुकमाया गुरुङ, तारा पुर्जा, शर्मिला गुरुङ, पुजा परियार, सरस्वती बगाले लगायतले सहजीकरण गर्ने बताइएको छ ।

Facebook Comments