मादी गाउँपालिकाको प्रशासनिक भवन देउरालीमा बन्ने

५१ रोपनी जग्गा निशुल्क प्राप्त

कास्कीको मादी गाउँपालिकाको प्रशासकीय भवन वडा नं ३ याङ्जाकोट स्थित देउरालीमा बन्ने निश्चित भएको छ । गाउँ कार्यपालिकाको बैठकले सर्वसम्मत रुपमा देउरालीमा प्रशासनिक भवन राख्ने निर्णय गरेको हो ।

गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ(श्याम)का अनुसार गाउँपालिका उपाध्यक्ष विष्णु आचार्य पौडेलको संयोजकत्वमा गठित समितिले प्राविधिक सहित देउरालीमा प्रशासनिक भवन बनाउन उपयुक्त हुने सिफारिस गरेकाले सोही सिफारिसका आधारमा निर्णय गरिएको हो ।

समितिले गाउपालिकाको प्रशासनिक भवन निर्माणका लागि याङ्जाकोट आसपास देउराली ,कुले डांडा, माझाडी तारकाङ, साझा भवन काडे भत्केम्ले, भैसे लगायत स्थलको निरीक्षण गरेको थियो । यसअघि गाउँपालिकाको वर्षे गाउसभामा गाउपालिकाको प्रशासनीक भवन रहने स्थलको बारे राजनैतिक सहमति नहुदा प्रस्ताव फिर्ता भएको थियो ।

हिउदे गाउँसभाले जग्गा प्राप्ती हुन आएमा कार्यपालिकाले निर्णय गर्न सक्ने अधिकार दिएपछि देउरालीमा निर्णय गरिएको हो । गाउपालिकाको केन्द्र स्थानीय तह गठन संगै थुमाकोडांडा तोकिए पछी साबिकको गाबिस कार्यालय याङ्जाकोटमा तोकिएको थियो । हाल याङ्जाकोटबाट गाउँपालिकाको केन्द्र सञ्चालन भइरहेको छ ।

मादी ३ का वडा अध्यक्ष मनबहादुर गुरुङ तथा समाजसेबीहरु जेमप्रसाद गुरुङ, मीन बहादुर गुरुङ ,बेल बहादुर गुरुङ , वडा सदस्यरु , टोल संयोजकहरु ,मिलन युबा क्लव ,आमा समूह लगायतको पहलमा गाउँपालिका भवन निर्माणको लािग देउराली, साउनेपानी लगायतका स्थानीयको पुर्जा भित्र रहेको ५१ रोपनी जग्गा गाउपालिका लाई निशुल्क प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

कार्यपालिका बैठकले एकीकृत वस्ती बिकास तथा जग्गा चक्लाबन्दी कार्य्विधि अनुमोदन, अध्यक्षसंग युवा स्वरोजगार अनुदानको लागि ९६ जना युवा हरुलाई प्रस्ताव हेरी उत्पादनको लागि जनही ५० हजार प्रदान गर्ने , विशेष कृषि र पशुपालन अनुदानमा २० जना कृषकलाई जनही २ लाख अनुदान वितरण गर्ने, वडा कार्यालय भवन निर्माणको लागि वडा नं ४,५,७,८,९ र १२ को प्रकृया अगाडी वढाउने र यही २०७६ साल भित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

मादी ७ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङका अनुसार कार्यपालिकाको बैठकले प्रदेश सरकारले गाउपालिका भित्र होम स्टे अनुदानको लागि १० र १० लाख स्वीकृत गरेका चप्ली, सिक्लेस, ताङतिङ, याङ्जाकोट,वार्चोक लगायतको होमस्टे हरुमा गाउपालिका बाट १० प्रतिशत सहलगानी साझेदारी गर्ने , गाउपालिका भित्रका रिक्त ४४ शिक्षक दरबन्दीको बिज्ञापन भएको र तकाल परीक्षा लिई पदपुर्ती गर्ने, स्थानिय पाठ्यक्रमको निर्माण गरी लागू गर्ने ,भुकम्पको गुनासो र निर्माण प्रगति कार्य,प्रधानमन्त्री रोजगार कार्यक्रम बारे जानकारी लिने कार्य, मादी लाई पुर्ण खोप सुनिश्चित गाउपालिका घोषणा लगायतका निर्णय गरेको छ ।

Facebook Comments