निष्ठाका साथ जनताको सेवामा समर्पित हुन आवश्यकः प्रमुख दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले इमान्दार, निष्ठावान बनेर जनताको सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिनुभएको छ । कर्मचारीहरुको क्षमता विकासको लागि भएको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महानगर प्रमुख दाहालले वडा कार्यालयहरुलाई चुस्त, दुरुस्त र सशक्त बनाउन कार्यशालाको आयोजना गरिएको बताउनुभयो । कार्यशालामा भरतपुर महानगरपालिकाका वडा सचिवहरु र समायोजनपछि पदस्थापना भएर आएका कर्मचारीको सहभागिता रहेको छ ।

राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीको काममा ढिलासुस्ती नगरी, पारदर्शी ढंगले सेवा प्रवाह गर्न जरुरी रहेको प्रमुख दाहालको भनाई थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सिङ्गो महानगरलाई उत्कृष्ट महानगर बनाउन वडा सचिवहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले क्षमता विकास गरेर महानगरलाई नमुना र उत्कृष्ट महानगर बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यशालामा भरतपुर महानगरका २९ वटै वडाका वडासचिवहरुको सहभागिता रहेको छ ।

Facebook Comments