मिडिया काउन्सिल विधेयक संविघानको भावना प्रतिकूल

नेपाल पत्रकार महासंघ कास्कीले सरकारले हालै संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ । विधेयकका सम्बन्धमा छलफल गर्न महासंघ कास्कीद्वारा बुधबार पोखरामा आयोजित अन्तरक्रियामा स्वतन्त्र प्रेस विरुद्ध विधेयक आएको सहभागीहरुको भनाई थियो ।

महासघं केन्द्रको निर्णय अनुरुप विरोध कार्यक्रम सञ्चालन गर्ने महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाई छ । संविधानको मर्म र भावना विपरीत स्वतन्त्र प्रेसलाई संकुचन गर्ने किसिमबाट विधेयक आएको भन्दै प्रेस विरोधी प्रावधान हटाइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारिताको व्यावसायिक मर्यादा विपरीत विधेयक आएको बताउनुभयो । मिडिया काउन्सिल सरकारको एउटा मन्त्रालय मातहत हुन नहुनेमा जोड दिनुभयो ।

प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले लोकतन्त्र एवम् प्रेस स्वतन्त्रता एकापसका परिपूरक भएको उल्लेख गर्नुभयो । उहाँले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पूर्ण स्वतन्त्र प्रेसको पक्षमा हुनुपर्ने बताउनुभयो । पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीले नेपालका राजनीतिक पार्टीहरुले सत्तामा रहँदा र बाहिर रहँदाको प्रेसलाई हेर्ने दृष्टिकोण फरक रहेको धारणा व्यक्त गर्नुभयो ।

स्वतन्त्र प्रेसको रक्षाका लागि मिडिया काउन्सिल गठन विरुद्ध सम्पूर्ण सञ्चारकर्मी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

छलफलमा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम राना, महासङ्घ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना लगायतले स्वतन्त्र प्रेसको आवश्यकता सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।

पत्रकार महासङ्घको कास्कीको सभाहलमा आयोजित कार्यक्रममा नागरिक समाज, सुरक्षाकर्मी र पत्रकारसङ्घ आबद्ध विभिन्न सङ्घसंस्था एवम् सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Facebook Comments