पत्रकारको गिरफ्तारीप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

विभिन्न ५ वटा पत्रकार संगठनले पत्रकारलाई गिरफ्तार गर्ने, गैरकानुनी थुनामा राख्ने तथा प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन, मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, मधेसी पत्रकार समाज, प्रेस सोसाइटीमा आवद्ध पत्रकारले मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका हुन् ।

आयोगको कार्यलय पुगेर कार्यवाहक अध्यक्ष प्रकाश वस्ती लगाएतका पदाधिकारीलाई भेटी पत्रकारको गिरफ्तारीप्रति ती संगठनका तर्फबाट ध्यानाकर्षण गराइएको हो ।

जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत,जनपत्रकार संगठनका महासचिव हिम विष्ट, प्रेस सोसाइटी र मधेसी पत्रकार समाजका पदाधिकारीहरु आयोगको कार्यालय पुगेका थिए ।

पत्रकारहरुले प्रेस विरोधी विधेयक तत्काल खारेज नगरे अन्तर्रा््िष्ट्रय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिइरहेका वेला संगठनका पदाधिकारीले मानव अधिकार आयोगको समेत ध्यानाकर्षण गराएका हुन्
आयोगका कार्यवाहक अध्यक्ष वस्तीले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए नेपाली प्रेसको स्वतन्त्रता संकटमा पर्नेतर्फ आयोग सजग रहेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘यो विधेयक संसदबाट पास भएर कानून बन्यो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन’ । कार्यावाहक अध्यक्ष वस्तीले गैरन्यायिक गिरफ्तारीप्रति आयोग गम्भीर बनेको बताउनुभएको थियो ।

Facebook Comments