साझा विवेकशील पार्टीको भ्रष्टाचारविरुद्धको अभियान शुरु

साझा विवेकशील पार्टीले भ्रष्टाचार विरुद्ध अभियान शुरु गरेको छ । साझा विवेकशील पार्टीले सुदूरपश्चिम प्रदेशबाट अभियान शुरु गरेको हो । पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रदेशस्तरीय भ्रष्टाचारविरुद्धको अभियान कैलालीको टीकापुरबाट अभियान शुरु गर्नुभएको हो ।

सो अवसरमा संयोजक मिश्रले पार्टीको माथिल्लो तहका नेतृत्व इमान्दार र मतदाता सचेत नहुँदासम्म भ्रष्टाचारमा कमी नआउने बताउनुभयो । उहाँले जनताले पनि भ्रष्ट नेतालाई निर्वाचनमा मतदान गर्न नहुने बताउनुभयो ।

नागरिकले नै नेतालाई जवाफदेही बनाउनुपर्नेमा संयोजक मिश्रले जोड दिनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य सूर्यराज आचार्यले आम मतदाता नजागेसम्म नेताहरूले भ्रष्टाचार गरिरहने र त्यसको असर नागरिक र मुलुकले भोग्ने बताउनुभयो ।

अभियान सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँ हुदै जेठ १२ गते अछामको विनायकमा पुगेर समापन हुने साझा विवेकशील पार्टी सुदूरपश्चिम प्रदेशले जनाएको छ । साझा विवेकशीलले मुलुकका अन्य प्रदेशमा पनि यस्ता अभियान सञ्चालन गर्ने जनाएको छ ।

तस्वीर रवीन्द्र मिश्रकाे फेसबुकबाट

Facebook Comments