नेपाल कम्युनिष्ट पार्टी नेकपाको जनवर्गीय संगठनमा नेतृत्व टुङ्गियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । बिहिबार वालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टी मातहतका २२ जनवर्गीय संगठनको भागबन्डा मिलाएको हो ।

स्रोतका अनुसार विद्यार्थी, मजदुर, बुद्धिजीवि र जनसाँस्कृतिक महासंघमा पूर्व एमाले, युवा संगठन, महिला संघ, पत्रकार संगठन, दलित संगठनमा पूर्व माओवादी केन्द्रबाट नेतृत्व तोक्न सहमति भएको हो ।
जस अनुसार विद्यार्थीका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ, पन्चा सिँह वा सुरेन्द्र बस्नेत मध्ये एक रहने गरी मोटामोटी सहमति जुटेको छ । यूवामा रामप्रसाद सापकोटा संयोजक र सहसंयोजक रमेश पौडेल र पौडेलले नमाने किरण पौडेललाई राख्ने सहमति जुटेको स्रोतको दावी छ ।

महिलामा संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ ।

मुस्लिम संगठनको संयोजकमा तत्कालीन एमालेका सहराज अहमद फारुकी र सहसंयोजकमा तत्कालीन माओवादीका अतहर हुसेन फारुकी, दलित संगठनमा तत्कालीन माओवादीका संयोजक तिलक परियार र सहसंयोजकमा बोमबहादुर विश्वकर्मा, जनसाँस्कृतिक महासंघमा तत्कालीन एमालेका खगेन्द्र राई र सहसंयोजकमा माओवादीका सरल सहयात्री, निर्माण व्यवसायी संगठनमा तत्कालीन एमालेका यज्ञध्वज कार्की र सहसंयोजकमा शिवप्रसाद चौंलागाई र माओवादी केन्द्रका तर्फबाट खोपनिधि लोहनी, आदिवासी जनजाती महासंघमा तत्कालीन माओवादीका सुरेश आलेमगर र सहसंयोजकमा तत्कालीन एमालेका शेरबहादुर तामाङ, अपाङ्ग संगठनमा तत्कालीन माओवादीका इन्द्रमाया गुरुङ र सहसंयोजक रामप्रसाद ढुंगानालाइ तोकिएको छ ।

खेलकुद महासंघका संयोजक तत्कालीन एमालेका पुरुषोत्तम पौडेल र सहसंयोजकमा माओवादीका शिव कोइराला, उद्योग व्यवसायी महासंघमा तत्कालीन एमालेका लक्ष्मीदास मानन्धर र सहसंयोजकमा तत्कालीन माओवादीका श्याम पाठक, सुकुम्वासी संगठनमा तत्कालीन एमालेका रामप्रीत पासवान र सहसंयोजकमा तत्कालीन माओवादीका पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा तत्कालीन एमालेका धनबहादुर चन्द र सहसंयोजक चुनिन वाँकी छ ।

पेशागत महासंघमा तत्कालीन एमालेका विश्वनाथ प्याकुरेल र तत्कालीन माओवादीका दयाराम बस्याल, प्रवास भारत संगठनमा तत्कालीन एमालेका लोकनाथ भण्डारी र उपसंयोजकमा तत्कालीन माओवादीका इश्वरी भण्डारी छन् ।

नेकपामा यसअघि नै इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनमा एकता भइसकेको छ । इन्जिनियरको जनवर्गीय संगठनको संयोजकमा तत्कालिन एमालेका शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा तत्कालिन माओवादीका हरि पराजुली चयन भएका छन् ।

त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा तत्कालीन एमालेका मीनबहादुर शाही र सहसंयोजकमा माओवादीका हुकुम पोखरेल सर्वसम्मत भएका थिए । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सर्वसम्मत सिफारिस भएका थिए । सबै जनवर्गीय संगठनको नेतृत्वको नाम पार्टी एकताको एक बर्ष पुगेको अवसरमा शुक्रवार घोषणा गर्ने तयारी छ ।

Facebook Comments