पोखरामा सार्वजनिक व्यायामशाला सञ्चालनमा

पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुल्ला व्ययामशाला बनाएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशाला निर्माणको काम सुरु गरेको हो ।

भण्डारढिकमा स्थापना गरिएको व्यायमशालाको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उदघाटन गर्नुभयो । व्यायामशालाको उद्घाटन गर्दै प्रमुख जिसीले स्वस्थ्य नागरिक निर्माणको लागि महानगरले खुल्ला व्यायाशालाको अवधारणा अगाडि बढाएको बताउनुभयो ।

उहाँले यस्ता व्यायमशाला टोल÷टोल हुनुपर्ने बताउँदै टोल विकास संस्थासँग महानगरले सहकार्य गरेर व्यायामशाला निर्माण गर्न सहयोग गर्ने समेत बताउनुभयो । उक्त स्थानमा एक सेट व्यायाम राखिएको छ भने एकै पटकमा १४ जनाले व्यायाम गर्न मिल्नेछ । उक्त सामग्री खरिद गर्न महानगरले २ लाख खर्चेको छ ।

महानगरपालिकाका अनुसार पोखरा ६ बैदामस्थित तालबाराही विद्यालय नजिकैको छेउको पार्कमा केही दिनमै एक सेट व्यायाम सामग्री राखिने छ । उक्त सामग्री चिनबाट खरिद गरी ल्याइएको हो । व्यायामशालामा निशुल्क रुपमा व्यायाम गर्न सकिनेछ । भण्डारढिक रंगशालाको व्यवस्थापन र सञ्चालन गर्दै आएको आदर्श क्लबले नै व्यायामशालाको व्यवस्थपान गर्नेछ ।

आदर्श क्लबका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा पोखरा २९ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बानिया, आदर्श क्लबको पूर्व अध्यक्ष विशाल श्रेष्ठ, सचिव पदम गुरुङले व्यायामशालाको बारेमा बोलेका थिए । पोखराका अनय स्थानमा समेत खुल्ला व्यायामशाला बनाउने प्रक्रियामा रहेको महानगरका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिनुभयो ।

Facebook Comments