बास्केटबल कास्की एकेडेमीद्वारा प्रशिक्षण संचालन

कास्की जिल्ला बास्केटबल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सांसद दिपक कोइराला ‘रुपक’ले एक कार्यक्रमबीच प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो । एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १० जना छात्राहरुले बास्केटबलको प्रशिक्षण लिएका छन् ।

बास्केटबलको २ (टु) लेभल उत्तीर्ण प्रशिक्षकहरु प्रदिप रसाइली र शिव पुनले बास्केटबलको प्रशिक्षण दिने बताइएको छ । बास्केटबल गण्डकी प्रदेशका प्रशिक्षक समेत रहेका रसाइलीले करिब ३ महिना प्रशिक्षण संचालन गरिने बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद दिपक कोइरालाले प्रशिक्षणबाट उत्कृष्ट खेलाडी बन्न प्रशिक्षार्थीहरुलाई शुभकामना दिनुभयो । प्रशिक्षणबाट खेलाडीलाई अनुशासन रहेर खेल कौशल सिक्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जिल्ला खेलकुद विकास समिति मातहतको खेलकुद संघहरुमध्ये बास्केटबल संघ उत्कृष्ट संघ बनेको उल्लेख गर्नुभयो । कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङको अध्यक्षतामा भएको कार्र्यक्रम सदस्य अर्जुन परियारले संचालन गरेका थिए ।

Facebook Comments