मिडिया काउन्सिल विधेयकको विरोधमा देशैभर प्रदर्शन

नेपाल पत्रकार महासंघको आह्वानमा देशभरका पत्रकारले आफ्ना सञ्चार सामग्री सहित प्रदर्शन गरेका छन् । हरेक जिल्लामा रहेका पत्रकार महासंघका शाखाको अगुवाईमा सञ्चारकर्मीले आफ्नो संचारका साधनहरु सहित प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रको पूर्वनिर्धारित कार्यक्रम अनुसार नै विहान ८ देखि ९ बजेसम्म सञ्चारका साधन सहित मिडिया काउन्सिल विधेयकको विरोध गरिएको हो । पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गर्दै चरणवद्ध आन्दोलन गरिरहेको छ ।

विभिन्न जिल्लामा भएका पत्रकारको प्रदर्शनमा राजनीतिक पार्टीका नेताहरुले समेत एक्वेवद्धता जनाएका छन् ।

के छ प्रस्तावित ? मिडिया काउन्सिल विधेयकमा

पत्रकार आचारसंहिता विपरीत समाचार लेख्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ । काउन्सिलले आचारसंहिता विपरीत समाचार लेख्नेलाई २५ हजार रुपैयाँदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थाको प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको हो । मन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधिसभा सचिवालयमा उक्त विधेयक दर्ता गरेका हुन् ।

विधेयकमा दफा १८ मा भनिएको छ, ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच आएको भनी सम्बन्धित व्यक्तिले दिएको उजुरी प्रमाणित भएमा सम्बन्धित आमसञ्चार माध्यम, प्रकाश, सम्पादक, पत्रकार वा सम्वाददातलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्नेछ ।’

Facebook Comments