अर्कोपटक दुई तिहाई बहुमतः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीले नेकपाले अर्कोपटक हुने निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाण्डौंमा मदन(आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले पार्टीसँग दुई तिहाइभन्दा अलिकति कम मत आएको पनि धेरैलाई पचेको छैन, अर्कोपटक हामी दुई तिहाइ बहुमत ल्याएर आउँछौं ।’

सरकारले राम्रा काम गरे पनि विपक्षीहरूले सानातिना कुरामा विरोध गरेर जनताको ध्यान मोड्न खोजेको आरोप लगाउनुभयो । सरकारको नीति तथा कार्यक्रम असाध्यै राम्रो भएपछि विरोध गर्ने ठाउँ नभएर मेरो सरकार भन्ने शव्दलाई लिएर वितण्डा मच्चाएको प्रधानमन्त्रीको आरोप थियो ।

बालुवाटार जग्गाको छानबिन गर्दा, सुन तस्करी रोक्दा, भ्रष्टाचारीलाई कारबाही गर्दा पनि सरकारमाथि नै हमला भएको ओलीको भनाई रहेको छ । प्रधानमन्त्रीले यसअघि जस्तै दोहोर्याएर भन्नुभयो, म भ्रष्टाचार गर्दिँनँ र गर्न पनि दिन्न ।

उहाँले काँग्रेसले मुलुकको जेठो पार्टी भएर पनि लोकतान्त्रिक मुल्य, मान्यता, संसदीय मर्यादा कायम नराखेको आरोप लगाउनुभयो । पार्टी एकताका सन्दर्भमा प्रधानमन्त्री ओलीले मन सानो पार्ने र चित्त दुखाउने बेला होइन भन्दै आवेशमा नआउन असन्तुष्ट नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Facebook Comments