सहकार्यले पर्यटकको बसाई अवधि लम्ब्याउन सकिन्छ : ओटेफ

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोलीले लमजुङको घलेगाउँ र भुजुङको भ्रमण गरेको छ । पर्यटन प्रवर्धन गर्दै ग्रामीण घरबास कार्यक्रमलाई टेवा दिन उक्त भ्रमणको आयोजना गरिएको हो ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष र नेपाल सरकारले सन २०२०लाई घोषणा गरेको नेपाल भ्रमण वर्ष कार्यक्रमलाई समेत सफल पार्न भ्रमण उपयोगी बनेको सहभागिले बताएका छन् । दुई दिनको उक्त भ्रमणमा ५० जना व्यवसायी महिलाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम ग्रामिण पर्यटनको बारेमा बुझ्न र सिक्न उपयोगी बनेको ओटेफका अध्यक्ष जमुना पराजुलीले जानकारी दिनुभयो । घरबास कार्यक्रम र अवलोकनले गाउँ पर्यटनको बारेमा बुझ्ने अवसर पाएको उहाँको भनाई छ । मिलेर काम ग¥यो भने पर्यटकको बसाई अवधि कसरी लम्ब्याउन सकिन्छ भन्ने उदाहरण त्यहाँ पाएको उहाँले सुनाउनुभयो ।

घेलेगाउँ पुग्दा भुजुङ् लगायतका वरपरका होमस्टेको बारेमा समेत जानकारी दिने शैलीले आफू प्रभावित भएको उहाँले बताउनु भयो । ‘यसरी भ्रमण गर्दा सार्कको नै नमूना गाउँको बारेमा आफैले बुझ्ने अवसर पाइयो । ‘त्यहाँको सामुहिक भावना, एक अर्का गाउँमा पर्यटक पठाउने र जानकारी दिने शैली पोखरेली पर्यटन व्यवसायीले सिक्नुपर्ने महसुस् भयो,’ ।

स्थानीय शिक्षासेवी यमुना घलेले बर्ष दिन काम गरेर ६ महिना पनि छाक टार्न धौ धौ हुने दिनको स्मरण गर्नुभयो । उहाँले घलेगाउँ आज घरबास लगायतका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमले त्यो अवस्थाबाट कहाँ पुगेको छ भन्ने विषय सबैका लागि अध्ययनको विषय बन्ने बताउनु भयो । आफ्नो खासै उत्पादन गर्ने स्थल नभएपनि न्युन जमिनको अधिकतम उपयोग गरेर पर्यटकका लागि स्वागत सत्कार गर्नेगरेको उहाँले जानकारी दिनुभयो ।

महिला, युवा, बालबालिका र बृद्धाबद्धा समेत संगठित भएर पर्यटन प्रवद्र्धन र त्यसको पूर्वाधारमा दैनिक खट्ने र नयाँपन दिने गरेको उहाँको भनाई छ । क्व्होलासोंथार गाउँपालिका ४ भुजुङका जनप्रतिनिधि गंगा घलेले घले गाउँमा भइरहेका पूर्वाधार र बन्ने पूर्वाधारका बारेमा जानकारी दिनुभयो ।

उहाँले विसं २०५७ सालमा मन्त्रिपरिषद् बैठकले सार्क राष्ट्रको नमुना गाउँ घोषणा गरेपछी घलेगाउँले अन्तराष्ट्रिय चर्चा पाएको स्मरण गर्नुभयोे । हाल कच्ची मोटरबाटो भएर घलेगाउँ पुग्नुपर्ने भएपनि अबको ३÷४ वर्षमा कालोपत्रे गरिएको सडकमा सवारी साधन चढेर घलेगाउँ पुग्न पाइने उहाँले जानकारी दिनुभयो ।

आफ्नै छिमेकी गाउँका पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री बनेको र प्रदेश सरकारले पनि घरबास कार्यक्रमलाई प्राथमिकता दिएर विभिन्न योजना ल्याएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । घलेगाउँ सहित अन्य होमस्टेले आन्तरिक र बाहीय पर्यटक भित्र्याउँदै प्रदेशकै अर्थतन्त्र उकास्ने उहाँले सुनाउनु भयो ।

सार्क नमुना भिलेजको रुपमा विकास भएको र स्मार्ट भिलेजको रुपमा विकास गरिदै गरेको घलेगाउँको बारेमा बुझ्ने र सहर अनि गाउँका बीचको अनुभव आदानप्रदानले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रतिनिधि गोपाल भण्डारीले बताउनु भयो ।

शारदा भूजेलको संयोजकत्वमा उक्त कायक्रम सम्पन्न भएको र आगमि दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने ओटेफका सचिव उमा भण्डारीले जानकारी दिनु भयो । भ्रमण टोली विहीबार साँझ पोखरा फर्केको छ । भ्रमणमा सहभागीहरुले महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गठन भएसंगै पर्यटन व्यवसायी महिलाहरु एकजुट भएर कार्यगर्न पाएको भन्दै खुशी ब्यक्त गरेका छन् ।

Facebook Comments