समृद्धिको लागि दिगो शान्ति र राष्ट्रिय एकता आवश्यक: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताउनुभएको छ । गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिगो शान्ति र राष्ट्रिय एकतामा जोड दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ–आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैमा आहृवान पनि गर्नुभएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धका उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने उहाँको भनाइ छ । बुद्धका उपदेशले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सदभाव कायम गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा उहाँले शुभकामना समेत दिनुभएको छ । यसैबीच राष्ट्रपति भण्डारीले उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

किराँत समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई, लिम्बू, याक्खा, सुनुवारलगायत किराँत समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिपूजक किराँत समुदायलाई धर्तीको वातावरण स्वच्छ राख्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताउनुभएको छ । किराँत धर्मावलम्बीहरुको महान् चाड उभौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

सन्देशमा प्रधनमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको बताउनुभएको छ ।

Facebook Comments