बर्षे तथा घैया धान लगाउँदा उन्नत जातका बीउ छनौट गर्न सुझाव

किसानहरु अब बर्षे धानबालीको तयारीमा रहने बेला हो यो । वर्षे धानबालीबाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाउँ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गरेमा मात्र धानबाली राम्रो हुन सक्छ ।

जसका लागि विज्ञहरुको सुझाव अनुसार तराई, भित्रि मधेस, तल्लो पहाडी बेंशीका सिंचित क्षेत्रको लागि बहुगुणीधान-१, बहुगुणीधान-२, हर्दिनाथ-३, मिथिला, रामपुर मन्सुली, सावित्री, राम धान तथा असिंचित क्षेत्रको लागि सुख्खाधान-१, सुख्खाधान-२, सुख्खाधान-३, सुख्खाधान-४, सुख्खाधान-५, सुख्खाधान-६, तरहरा-१ र हर्दिनाथ -२ उपयुक्त हुने छ ।

त्यस्तै घैया धानको लागि घैया-१, घैया-२ र विन्देश्वरी, बाढीग्रस्त क्षेत्रका लागि स्वर्णसब-१ र सम्बा मन्सुलीसब -१ उपयुक्त हुने विज्ञहरुको सुझाव छ । मध्यपहाडीक्षेत्रका लागि खुमल-४, खुमल-८, खुमल-१०, खुमल-११ र खुमल-१३ छरुवा धानखेतीको लागि तराई तथा भित्री मधेसमा सुख्खाधान-१, सुख्खाधान-२, सुख्खाधान-३, तरहरा-१, हर्दिनाथ(-२, घैया-२, राधा-४ र विन्देश्वरी तथा मध्यपहाडमा खुमल-४, खुमल-८रखुमल-१० लगाउन उपयुक्त हुने सुझाव छ ।

विज्ञका अनुसार एक रोपनी जमीनमा धान खेती गर्न २५ वर्गमीटर वा एक कठ्ठाको लागि १५ वर्गमीटर क्षेत्रफलको नर्सरी ब्याड तयार गर्दा ३*५ डोको कम्पोष्ट मल प्रति १० वर्गमीटरका दरले ब्याडको माटोमा राम्ररी मिलाई ब्याड तयार गर्नुपर्दछ ।

बीउ छान्ने विधिः

  • तीन लिटर पानीमा मसिनो धानको लागि लगभग ५०० ग्राम र मोटो धानको लागि ६०० ग्राम नुन एउटा बाल्टीनमा राम्ररी घोल्ने।
  • घोलिएको नुन–पानीमा एक किलोग्राम जति धानको बीउ खन्याउने, एकैछिन चलाउने र १-३ मिनेट जति बीउलाई तैरिन र थिग्रिन दिने।
  • तैरिएका र थिग्रिएका बीउलाई अलग-अलग झिकेर छुट्टै राख्ने। बाँकी बीउलाई त्यसरी नै सोही नुन–पानीको घोल प्रयोग गर्दै छुट्याउने।
  • बीउको मात्रा धेरै वा थोरै भए सोहीअनुरुप नुन–पानीको घोलको मात्रालाई बढाउन वा घटाउन सकिन्छ।
  • थिग्रिएको बीउलाई सफा पानीले २ पटक सफा गरी व्याड राख्ने।
  • छरुवा धान भए सिधै छर्ने। यसरी छानेको बीउलाई सोही दिन ब्याड नराख्ने वा नछर्ने भए बीउलाई पानीले पखाली छहारीमा राम्ररी सुकाएर राख्न सकिन्छ।
  • तैरिएको बीउलाई पनि पानीले पखालेर र सुकाएर अन्य प्रयोजनमा ल्याउन सकिन्छ। नुन–पानीको घोललाई गाईभैंसीको कुँडो बनाउँदा प्रयोगमा ल्याउन सकिन्छ।
  • बीउलाई कार्बेन्डाजिमयुक्त विषादी (बेभिष्टिन)३.०ग्रामप्रतिके.जी.को दरले मिसाएर बन्दभाँडोमा वा बाल्टिनमा सबै दानामा लाग्नेगरी उपचार गर्ने।
  • उपचारगरेको३-४दिन भित्र ब्याडमा बीउ राख्ने।

श्राेत : कृषि-मौसम सल्लाह सेवा बुलेटिन

Facebook Comments