पाेखरामा जेठ ९ गते देखि ‘तिर्खा’ नाटक मञ्चन हुने

पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गतेबाट मञ्चन हुने भएको छ । आयोजक पोखरा थिएटरले शनिबार पोखरामा पत्रकार गरी नाटक जेठ ९ गतेदेखि २५ गतेसम्म निरन्तर मञ्चन हुने जानकारी दिएको हो ।

पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुने यो नाटकको यतिबेला रिहर्सल भइरहेको थिएटरले जनाएको छ । नाटक ‘तिर्खा’ सन १९२४ मा न्यू ईंगल्याण्डको ग्रामिण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो ।

मातृत्वको अभावले सृजना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रहरुको चाहना, त्यो प्राप्तिका लागि गरिने आशक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ । झण्डै एक शताब्दी अघि लेखिएपनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको यस नाटकका निर्देशक चे शंकरको भनाई छ ।

चे शंकरकै परिकल्पनामा यो नाटक मञ्चन गर्न लागिएको हो । राजधानी काठमाडौंमा रहेर नाटकमा जमेका चे शंकरले पोखरेली कलाकारलाई लिएर नाटक गर्नुभएको हो । सन् २०१२ मा इलुजन नाटकबाट निर्देशन शुरु गरेका उहाँले हालसम्म एक दर्जन बढी नाटक निर्देशन गरिसक्नुभएको छ ।

नाटकमा पोखरेली कलाकारहरु शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ ।

नाटक अमेरिकी नाटककार युजिन ओनिलद्वारा लिखित नाटक पोखरामा मञ्चन गर्न लागिएको हो । नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेरलाई मात्र देखाइने जनाइएको छ । नाटकको विषयवस्तु र प्रस्तुतीले १६ वर्ष मुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरुलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको निर्देशक चे शंकरले जानकारी दिनुभयो ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कलाकार प्रकाश घिमिरे, निर्देशक चे शंकर, थिएटरका प्रमुम संरक्षक शंकरप्रसाद कोइराला, चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडेल लगायतले बोलेका थिए ।

Facebook Comments