यातायात समितिहरु ५ दिनभित्र कम्पनीमा दर्ता गर्नुपर्ने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफू मातहतका समितिलाई ५ दिनभित्र कम्पनीमा दर्ता गर्न भनेको छ । महासंघले सरकारसँग भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासंघ मातहतका समितिहरुलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन आग्रह गरेको हो ।

महासंघले जारी गरेको सूचनामा कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ (क) अनुसार कम्पनी दर्ता गर्न महासंघमा आवद्ध यातायात व्यवसायीलाई शेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिश लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताइएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले सरकार र महासंघबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले ५ दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासंघले लिन नसक्ने स्पष्ट पार्नुभयो ।

देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन् । लामो समयदेखि यातायात समितिहरु गैह्रनाफामूलक अर्थात् सेवामूलक सामाजिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालनमा रहेका थिए । सरकारले कम्पनीमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएपछि समितिलाई कम्पनीको रुपमा दर्ता गर्न लागिएको हो ।

Facebook Comments