एटिएममा नेपाली भाषा समेत व्यवस्था हुनुपर्ने

अबदेखि बैंक तथा वित्तीय संस्थाले एटिएम (अटोमेटिक टेलर मेसिन) एटिएम मेसिनमा नेपाली भाषा समेत राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैँकले बैंक तथा वित्तीय संस्थालाई आफ्ना एटिएम (अटोमेटिक टेलर मेसिन) मा अनिवार्य रूपमा नेपाली भाषासमेत राख्न निर्देशन दिएको हो ।

नागरिकको गुनासो आएपछि राष्ट्र बैंकले सबै एटिएममा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सक्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । अबको ३० दिनभित्र बैंक तथा वित्तीय संस्थाले आफ्ना सबै एटिएमबाट नेपाली भाषामा समेत कारोबार गर्न सकिने व्यवस्था गर्नुपर्ने छ ।

नेपाली भाषामा आर्थिक कारोबार गर्न गरिएको व्यवस्थाका बारेमा आफूलाई जानकारी गराउनसमेत राष्ट्र बैकले निर्देशन दिएको छ । ‘भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ४५ उपदफा(१) तथा भुक्तानी तथा फस्र्योट विनियमावलीको विनियम ५९ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ  ।

एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था नमिलाए कारबाही गर्ने चेतावनी पनि राष्ट्र बैँकले दिएको छ । नेपाली भाषाविद्हरूले राष्ट्र बैँकका गभर्नरलाई भेटेर एटिएममा नेपाली भाषा राख्ने व्यवस्था मिलाउने बारेमा केही दिनअघि ध्यानाकर्षण गराएका थिए ।

Facebook Comments