कुलमानलाई भ्रष्टाचारको आरोप, अनावश्यक आरोप नलगाउन कुलमानको चेतावनी

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचारको आरोप लागेको छ । यसरी भ्रष्टाचारको आरोप लगाउने सामन्य मान्छे नभएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद अमनलाल मोदीले कुलमानलाई भ्रष्टाचार गरेको आरोप लगाउनुभएको हो ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच आरोप–प्रत्यारोप चल्यो ।

सांसद मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार भएको आरोप लगाउनुभएको हो । तर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने आफूले भ्रष्टाचार गरेको प्रमाणित भएमा झुण्डिएर मर्न तयार रहेको भन्दै अनावश्यक आरोप नलगाउन चेतावनी दिनुभयो ।

घिसिङले सांसद मोदीको असहयोगले मोदीकै निर्वाचन क्षेत्र मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गरी उपयोग गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार उक्त स्थानमा ३ किलोमिटर तार तान्न अवरोध भएको हो ।

Facebook Comments