१५ दिनभित्र फेवातालको मापदण्ड विपरीतका संरचना हटाउन पोखरा महानगरपालिकाको अल्टिमेटम

फेवातालको मापदण्ड मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाउनुपर्ने भएको छ । पोखरा महानगरपालिकाले मापदण्ड विपरीतका संरचना १५ दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

महानगरपालिकाले बिहीबार एक सूचना निकालेर १५ दिन भित्रमा ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थाई संरचना हटाउन भनेको छ ।

ड्याम साइडदेखि खपौदीसम्मको मूल सडकभन्दा तलपट्टी रहेका मापदण्डको लगत लिने र लगतका आधारमा मापदण्ड विपरीतका संरचना हटाउने महानगरको तयारी रहेको छ ।

सर्वोच्च अदालतले फेवाताल संरक्षणको लागि प्रदेश, संघ र स्थानीय तहलाई आदेश दिएको थियो । त्यसमध्ये केन्द्र सरकारले जग्गाको मुअब्जा उपलब्ध गराउने, प्रदेशले सीमाकंन र स्थानीय तहलाई संरक्षणको जिम्मेवारी तोकिएको छ ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछाने अध्यक्षताका फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा सर्वोच्चले फैसला गरेको थियो । फेवातालको मापदण्ड ६५ मिटर कायम गर्नुपर्ने पनि आदेशमा उल्लेख छ ।

Facebook Comments