पाँचथर हत्या प्रकरणको वास्तविकता छिट्टै सार्वजनिक गर्ने हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनाबारे छानविन भइरहेको बताउनुभएको छ । उक्त हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभएको छ ।

बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै गृहमन्त्री थापाले घटना घटाउने व्यक्तिको खोजतलास भइरहेको र प्रहरीलाई हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । घटना दुखद, विभत्स प्रकृतिको छ, यस किसिमका घटना रोक्न प्रहरी र गृहबाट सक्दो प्रयत्न भइरहेको गृहमन्त्रीको भनाई छ ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनामा भागेर बाँच्न बालिका सिता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताउनुभयो । सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो ।

Facebook Comments