बेगनासमा पाँचौं संस्करणको फिस फेस्टिभल हुने

लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनको आयोजनामा पाँचौ संस्करणको फिस फेस्टिभल हुने भएको छ । आउँदो जेठ १३ देखि २० गतेसम्म फिस फेस्टिभल गर्न लागिएको हो ।

कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी गर्न लागिएको फेस्टिभल ८ दिनसम्म चल्नेछ । अघिल्ला बर्षहरुमा ३ दिनमात्र फेस्टिभल हुने गरेको थियो । फेस्टिभलबाट बाट यस क्षेत्रमा रहेका सात वटा तालको प्रचारप्रसारमा सहयोग पुग्ने र ताल क्षेत्र वरपर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।

एशोसिएशनका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाका अनुसार फेस्टिभलमा स्थानीय जातका माछाको स्वाद चाख्नदेखि माछा उत्पादन प्रविधिका बारेमा जानकारी दिन र लिन महोत्सव सहयोगी हुने तथा महोत्सवमा कृषि व्यापार मेलासमेत समावेश गरिएकाले आगन्तुक पाउनादेखि कृषकलाई पनि सहयोग मिल्ने छ ।

महोत्सवमा अधिकांश स्थानीय कृषि उत्पादन तथा व्यापारसँग सम्बन्धित स्टल राख्ने आयोजकको तयारी छ । बेगनासतालमा पाइने प्राय सबै थरिका माछा समेटिने गरी एक दर्जन स्टल सहित, खेलकुद अन्य मनोरंजनात्मक कार्यक्रम फेस्टिभलमा समावेश गरिएको छ ।

महोत्सवका लागि करिब २६ लाख रुपैंया खर्च र २८ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । होटल तथा रेष्टुरेष्ट एशोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सनाले बचत रकम माछा संरक्षणमा प्रयोग गरिने जानकारी दिनुभयो । डुङ्गा दौड प्रतियोगिता, पौडी प्रतियोगिता र गण्डकी प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगिताका साथै अन्य सांस्कृतिक कार्यक्रम समेत फेस्टिभलमा समावेश गर्ने आयोजकले जनाएको छ ।

Facebook Comments