पवन चाम्लिङः सिक्किममा २५ बर्षको सत्ता नेतृत्व गुम्यो

विधानसभा निर्वाचनमा सिक्किममा २५ बर्षसम्म नेतृत्व गरेका पवन चाम्लिङलाइ धक्का लागेको छ । सिक्किममा पवन चाम्लिङले आफ्नो २५ वर्षे शासन सत्ता गुमाउनुपरेको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले पराजित भएको हो ।

सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जितसँगै बहुमत हाँसिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।

सिक्किमको लोकसभाको एक सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ । अब गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले नयाँ सरकार बनाउने छ ।

गोलेले पवन चाम्लिङकै पार्टीबाट अलग भएर ‘सिक्किम क्रान्तिकारी मोर्चा’ (एसकेएम) गठन गरी राजनीतिमा होमिनुभएको हो । गोले स्वयं भने चुनावी प्रतिस्पर्धामा नरहेपनि एसकेएमले ३२ वटै सिटमा उम्मेदवारी दिएको थियो । सिक्किम क्रान्तिकारी मोर्चाले भ्रष्टाचार नियन्त्रण गर्ने, बेरोजगारलाई रोजगारी दिने मुख्य एजेन्डा लिएर चुनाव लडेको थियो ।

नेपाली भाषी रहेको सिक्किममा क्षेत्रीय दलहरु नै हावी हुने गरेका छन् । यसअघि छोटो अवधिका लागि भारतीय काँग्रेसले सत्ताको नेतृत्व गरेपनि अधिकांश समय क्षेत्रीय दलले नै सिक्किमको नेतृत्व गर्दै आएका छन् ।

Facebook Comments