चितवन महोत्सवको आय व्यय सार्वजनिक, क्रिकेट रंगशालाका लागि ५५ लाख दिइने

गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहेको छ । यसै क्रममा चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रु ५५ लाख ५५ हजार ५ सय ५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने भएको छ ।

चितवन महोत्सव मूल आयोजक समितिले आय व्यय विवरण सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिइएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले महोत्सवमा रु तीन करोड ४४ लाख ५४ हजार ११७ आम्दानी र ६९ लाख ९९ हजार ७ सय ९१ रुपैयाँ बचत भएको जानकारी दिनुभयो ।

साथै फाउण्डेसनसहित विभिन्न सङ्घसंस्थालाई रु ७१ लाख १३ हजार सहयोग गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय गणेश मन्दिरलाई रु पाँच लाख १७ हजार, राष्ट्रिय आधारभूत माविलाई रु एक लाख, नेपाल आदिवासी जनजाति महासङ्घलाई रु एक लाख ५० हजार, सशस्त्र प्रहरी बल कुरिनटारलाई रु तीन लाख ४० हजार, जिल्ला प्रशासन कार्यालय चितवनलाई रु एक लाख, नेवाः पुचः नारायणगढलाई रु ७५ हजार, नारायणी कला मन्दिरलाई रु ७५ हजार र जिल्ला प्रहरी कार्यालय अगाडि विश्रामस्थल निर्माण गर्न रु दुई लाख सहयोग गरिने भएको छ ।

प्रधानले क्रिकेट रङ्गशालाका लागि रकम थप गरी रु एक करोड पु¥याइने लक्ष रहेको पनि जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण गरिँदैछ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका आयोजक हुने गरी गएको पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सवबाट भरतपुर महानगरलाई कर बापत आठ लाख ९५ हजार, आयकर बापत रु १६ लाख ९९ हजार आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाइसकेको बताइएको छ ।

Facebook Comments