थमन महेश पत्रकारिता पुरस्कार पत्रकार पौडेललाई प्रदान गरिने

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेललाई थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिने भएको छ । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार तथा अर्का सञ्चारकर्मी महेश पहारीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो ।

तत्कालीन क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको सो पुरस्कार प्रेस सेन्टर कास्कीले सञ्चालन गर्दै आएकोमा अवबाट प्रेस सङ्गठन नेपाल कास्कीले सञ्चालन गर्ने भएको हो । सो पुरस्कारको राशी नगद रु. २५ हजार, ताम्रपत्र तथा दोसल्ला रहेको छ । पुरस्कारका लागि प्रतिभा छनोट गर्न प्रेस सङ्गठन कास्कीले गठन गरेको छनोट समितिले गरेको सिफारिसलाई आज बसेको सङ्गठनको बैठकले अनुमोदन गरी युवा पत्रकार पौडेललाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

अग्रज पत्रकार कोलमनाथ बरालको संयोजकत्वमा रहेको छनोट समितिमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, गोमा घिमिरे तथा प्रेस सङ्गठनका नेताहरु माधव बराल र सन्देश श्रेष्ठ सदस्य रहनुभएको थियो । एक दशकदेखी जनपक्षिय तथा जनजिविकाको सवालमा कलम चलाउदै आईरहेका एक जना सञ्चारकर्मीलाई वर्षेनी सो पुरस्कारबाट पुरस्कृत गर्ने गरिएको छ ।

वि.सं २०५७ सालमा स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका पौडेल वि.सं २०५९ सालदेखी पोखरा हटलाईन दैनिकको संवाददाता हुँदै हाल सम्पादकका रुपमा कार्यरत रहनुभएको छ । क्रान्तिकारी पत्रकार संघ, कास्कीको संस्थापक उपाध्यक्ष रहेका पौडेल जनयुद्धकाल देखी नै जनपक्षिय पत्रकारिता क्रियाशिल रहनुभएको थियो ।

पत्रकार महासंघ कास्की शाखाको दुई कार्यकाल सचिव, एक कार्यकाल उपाध्यक्ष हुनुभएका पौडेल हाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्ष हुनुहुन्छ । पौडेल यसअघि प्रेस काउन्सिले प्रदान गर्दै आएको प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो । सो पुरस्कारबाट यसअघि कोमलनाथ बराल, महेश्वर दाहाल, रुद्र भट्ट र गोमा घिमिरे पुरस्कृत भईसकेका छन् ।

यही जेठ १३ गते कृष्ण सेन ईच्छुक स्मृति दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी पौडेललाई पुरस्कार अर्पण गरिने प्रेस सङ्गठन कास्कीका नेता कृष्ण दवाडीले जानकारी दिनुभयो । वि.सं. २०४३ सालमा पिता स्व. नारायण पौडेल तथा माता पवित्रा पौडेलको कोखबाट पर्वतको आर्थरमा पौडेलको जन्म भएको हो ।

Facebook Comments