प्रदेश सांसद महताे कारवाहीमा

नेकपाको संसदीय बोर्डले प्रदेश नम्बर २ को धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सत्रुधन महतोलाई नुशासनको कारवाही गरेको छ । नेकपाले सार्वजनिक लेखा समितिकाे उम्मेदवार भरत साहलाइ बनाउने निर्णय गरेका महताेले पनि उम्मेदवारी दिएपछि अनुशासनकाे कारवाही गरेकाे जनाइएकाे छ ।

नेकपा संसदीय बोर्डले आधिकारीक उम्मेदवार भरत साहलाई छनौट गरिसक्दा पनि सार्वजनिक लेखा समितिको संयोजक पदका लागि बागी उम्मेदवारी दर्ता गरेर अनुशासन उल्लंघन गरेकाले १५ दिनको लागि निलम्बन गरेको हो ।

प्रदेश सांसद सत्रुधन महतोले नेकपा संसदीय बोर्डको निर्णय विपरित सार्वजनिक लेखा समितिको संयोजकमा बागी उम्मेदवारी दिएर अनुशासनहीनताको कार्य गरेकाले १५ दिनसम्मका लागि संसद पदबाट निलम्बन गरिएको नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिनुभयाे ।

गत शुक्रबार १५ दिनका लागि सांसद पदबाट निलम्बन गर्नका लागि सभामुख सरोजकुमार यादवलाई नेकपाको संसदीय बोर्डको निर्णय जानकारी गराएको छ । फागुनको पहिलो सातामा भएको संसदीय समिति सार्वजनिक लेखा समितिको लागि नेकपाको संसदीय बोर्डले सांसद भरत साहलाई आधिकारीक उम्मेदवार बनाएको थियो ।

एकै दलबाट उम्मेदवारी दर्ता गराएका सांसद महतो र सांसद साहको उम्मेदवारी रद्द भएपछि मतदान हुन सकेको थिएन । मनोनयन पत्रमा समर्थकको रुपमा हस्ताक्षरमा आफ्नो फर्जी हस्ताक्षर गरिएको भन्दै नेकपाका सांसद रामकुमार यादवले संसद सचिवालयमा निवेदन दर्ता गराउनुभएकाे थियाे । त्यसपछि दुवै जनाको उम्मेदवारी रद्द भएको संसद सचिवालयले जनाएको थियो ।

Facebook Comments