नागरिकसँग सहकार्य गरेर सुरक्षाः प्रहरी महानिरीक्षक खनाल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा नागरिकसँग साझेदारी गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२२ पटिहानीमा शनिबार पर्यटन प्रहरी कार्यालय समुद्घाटन गर्दै उहाँले प्रहरी र नागरिकवीच सहकार्य हुनुपर्ने बताउनुभयो ।

प्रहरीमाथि समाजले विश्वास गर्नुपर्ने भन्दै खनालले कमीकमजोरी भए सच्याएर अगाडि बढ्ने बताउनुभयो । पर्यटन प्रहरी पर्यटकको सुरक्षासँगै आम समुदायका लागि स्थापना गरिएको उहाँको भनाई छ ।

पर्यटकीय क्षेत्रमा घुम्न आउने जो कोहीले पनि सुरक्षित महशुस गरेमा मात्रै पर्यटन प्रबद्र्धन हुने उहाँको भनाई छ । पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीले पर्यटन मन्त्रालयसँग सहकार्यका साथ काम गरिरहेको पनि महानिरीक्षक खनालले जानकारी दिनुभयो ।

उक्त स्थानमा रहने पर्यटन प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी रहनेछन् ।

पश्चिम चितवनको यस क्षेत्रमा अहिले तीन वटा तीनतारे होटल सञ्चालनको क्रममा रहेका छन् भने पाँच वटा ठूला होटल सञ्चालन भइरहेका छन् । उक्त स्थानमा जंगल सफारीका लागि उपयुक्त रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको पटिहानी दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि उत्तम स्थान हो । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्ये पटिहानी क्षेत्र पनि एक हो ।

Facebook Comments