अष्ट्रेलियामा चालक रहित रेल सेवा सञ्चालनमा

अष्ट्रेलियाको सिड्नीमा आधुनिक रेल सेवाको रुपमा चालकविहीन रेल सेवा सुरु भएको छ । अनलाइन पोर्टल नाइन न्यूजले जनाए अनुसार ४० मिनेट लामो यात्रा तय हुने यो मेट्रो रेलले सिड्नीमा सञ्चालनमा आएको हो ।

सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेल आइतबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुमा बस्ने नागरिकलाई यो रेलसेवाले सुविधा पुग्नेछ । यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ ।

पाँच वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो रेलसेवाको लागत करिब ७.३ विलियन डलर रहेको पनि नाइन न्यूजले जनाएको छ । सिड्नीको पहिलो चालकविहीन रेल सेवा अष्ट्रेलियाको पूर्वाधार विकासमा आधुनिकीकरणका रुपमा लिइएको छ ।
एजेन्सीको सहयोगमा

Facebook Comments